दैलेख ःछाउप्रथा बार्ने कुसंस्कारका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा केही महिला अकालमा ज्यान फाल्न बाध्य बने, बनाइए । देउता रिझाउने नाममा छाउ भएका बेला महिलालाई घर बाहिर राख्ने कुसंस्कारका कारण २०७५ असार २२ गते छाउगोठमा सर्पले टोकेर ज्यानगुमाउने दैलेखको चामुण्डाबिन्द्रासैनीनगरपालिका–६ लैनचौरकी १९ वर्षीय तुलसी शाही एक उदाहरण हुन् ।
छाउ प्रथालाई कानुनी रूपमा अपराध मानिएको छ । तर, देउता रिझाउने कुसंस्कारका कारण महिलाहरू गोठमा बस्दै आएका मात्र छैनन् रक्तश्राव भएका वेला छाउगोठ बस्दा हिंसा सहन बाध्य कर्णाली र सुदूरपश्चिमका महिला र सुत्केरीले देउता रिसाउने नाममा झोलुङ्गे पुलसम्म प्रयोग गर्न नपाउने गरेकोपाइएको हो ।
अन्तरजातीय विवाह, छाउपडी लगायतका कुसंस्कारलाई सामाजिक प्रतिष्ठा र धर्मसँग जोड्ने अभ्यासले दैलेखको आठबीस नगरपालिका–४ खिड्कीजीउलादेखि अछामको पञ्चदेवल विनायक नगरपालिका–९ जोड्ने कर्णाली नदिमा रहेको झोलुङ्गे पुल र दैलेखको नारायण नगरपालिकादेखि दुल्लु नगरपालिका जोड्ने छामघाट खोलामा रहेको पुल प्रयोग गर्न नपाउँदा महिलाहरू सामाजिक अन्धविश्वासको मारमा परेका छन् ।
संस्कार जोगाउने नाममा परम्परादेखि महिनावारी भएको समयमा महिलाले पुलको प्रयोग गर्न नपाइने आठबीस नगरपालिका–४ की २५ वर्षीयालक्ष्मीबयकमाझीले बताइन् । महिनावारी भएको समयमा देउता लाग्छ भन्ने पुरानो परम्पराकाको मारमा आफूहरू रहेको उनको भनाइछ । महिनावारी सुरु भएदेखि हालसम्मआफूले उक्तपुलको प्रयोग नगरेको लक्ष्मीले बताइन् । उनले भनिन्, ‘सबैले मान्दै आएको परम्परालाई तोड्नु भएन । पुल तरे देउता रिसाउँछन् भन्छन् ।’ अन्धविश्वासको मार महिलाले भोग्दै आएका छन् ।
महिनावारी, सुत्केरी र गर्ववतीमहिलाले उक्तपुलको प्रयोग गर्न नपाउने पुरानो परम्परा रहेको अछामको पञ्चदेवल विनायकनगरपालिका–९ मा रहेको कालेकाँडा स्वास्थ्यचौकीमाकार्यरत स्वास्थ्यकर्मी पाना कार्कीले बताइन् । अन्धविश्वास हटाउन आफूहरूले जनचेतना फैलाउँदै आएको बताउँदै समाजमा जडो गाडेर बसेका पुराना परम्परा तोड्न गाउँका अन्य महिला तयार नहुने गरेको उनको भनाई छ ।
‘देउता रिझाउने पहिलेदेखि महिलाले झोलुङ्गे पुलको प्रयोग गर्दैनन् । गर्भवती, महिनावारी र सुत्केरी महिला अर्को जीर्ण पुलको प्रयोग गर्न बाध्य छन् । समाजमा रहेका कुसंस्कार हटाउन स्थानीय सरकार र सम्बन्धित निकाय अग्रसर हुनुपर्छ । रक्तस्राव महिलामा हुने एक प्रक्रिया रहेकाले यसका नाममा हुने विभेद हट्नु आवश्यक छ । अहिले पनि सुदूरपश्चिम र कर्णालीका महिला छाउगोठ बस्न बाध्य छन्,’ स्वास्थ्यकर्मी कार्कीले भनिन् ।
आठबीस र पञ्चदेवल जोड्ने कर्णाली नदिको खिड्कीजीउलामा रहेको झोलुङ्गे पुल नजिकै नैनेल देवताको मन्दिर रहेकाले सुत्केरी तथा महिनावारी भएका महिलाले परापूर्व कालदेखि प्रयोग गर्न नपाउने गरेका आठबीस नगरपालिका –४ का स्थानीय युवानिरज कुमार माझीले बताए । देउता रिझाउने नाममा रक्तस्राव भएका महिलाले सहज मार्गको प्रयोग गर्न नपाउनु सामाजिक अन्धविश्वासको पराकाष्ठा रहेको उनको भनाई छ ।
खिड्कीजीउलामा रहेको झोलुङ्गे पुल नजिकै नैनेल देवताको मन्दिर रहेकाले सुत्केरी तथा महिनावारी भएकामहिलाले उक्तपुलको प्रयोग गर्न नपाउने परम्परा तोड्न आफूहरूले विगतका वर्षदेखि वकालतगर्दै आएको माझीको भनाई छ । महिनावारी भएका महिलाले पुलको प्रयोग गर्न नपाउने पुरानो परम्परा हो । सामाजिक मूल्य मान्यताका कारण उनीहरूले पुलको प्रयोग गरेको देखिदैन् ।,’ माज्ीले धमाका दैनिकसँगभने ।
युवा पुस्ताले कानुनले बन्देज गरेको कुप्रथा हटाउन मन्दिरका मुल पुजारीलाई आग्रह गर्दै आएको उनको भनाई छ । उनले भने, ‘कुसंस्कार हटाई महिलालाई बाटो दिनुपर्ने भन्दै भन्दै युवाहरूले मन्दिरका मूल पुजारीसँग आग्रह गर्दै आएका छौँ । उहाँले प्रीतिले नमान्ने जवाफ दिनुहुन्छ । महिनावारी र सुत्केरी भएको समयमा महिलाहरू पुलको करिब दुई सय मिटर नजिकसम्म जान पाउँदैनन् । विद्यालय आउजाउ गर्ने छात्राहरूको पनि त्यही बाध्यता छ ।,’
महिनावारीको समयमा पुलबाट आवतजावत गर्न नपाइने समस्याका कारण अछामबाट आफ्नो विद्यालयमा अध्यापन गराउने शिक्षिकाले काम छोड्नु परेको आठबिस नगरपालिका–४ मा निजी विद्यालय सञ्चालन गर्दै आएका भरत साउदले बताए । देवता रिसाउने डरका कारण सुत्केरी भएका महिलाले समेत पुलको प्रयोगबाट वञ्चित हुनु परेको उनको भनाई छ । यस्ता सामाजिक अन्धविश्वास हटाउन सबै लाग्नुपर्ने साउदले बताए ।
२०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिताले छाउपडी प्रथालाई कानुनी रूपमा अपराध मानेको छ । तर, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाहरूमा छाउपडी प्रथा कायम छ । जसका कारण अकालमै ज्यान गुमाउन बाध्य भएका महिलाले देउता रिझाउने नाममा स्थानीयस्तरमा रहेका झोलुङ्गे पुल लगायतका स्रोत साधनको प्रयोग गर्न समेत पाउँदैनन् ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १६८ को उपदफा ३ मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अमानवीय व्यवहार फौजदारी मुद्दा लाग्ने उल्लेख छ । दफा १६८ को उपदफा ४ ले त्यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था छ । उपदफा ५ ले राष्ट्रसेवकले यस किसिमको कसुर गरेमा निजलाई अरूलाई गर्ने सजायमा थप तीन महिना कैद सजाय गर्ने उल्लेख गरिएको छ ।
छाउपडी समस्या हटाउन सर्वोच्च अदालतमा परेको रिटमा २०६२ मा उत्प्रेषण आदेशअनुसार सरकारले छाउपडी प्रथा उन्मुलन निर्देशिका २०६४ जारी गरिसकेको भए पनि जिल्ला र स्थानीय तहमा छाउपडी प्रथा उन्मुलन समिति बन्नुपर्ने हो । समितिले विभिन्न स्रोतहरूको प्रयोग गरी छाउपडी उन्मूलनका लागि तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
जीर्णपुल, जोखिमपूर्ण यात्रा
गएको जेठ २७ गते लट्ठा चुँडिएर खच्चड फसेको कर्णाली नदिको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिका जोड्ने कर्णाली नदीमा रहेको झोलुङ्गे पुल सात महिनासम्म मर्मत नहुँदा विद्यार्थीदेखि आम नागरिकलाई यात्रा गर्न कठिन हुने गरेको हो ।

सात महिना अघिदेखि जीर्ण अवस्थामा रहेको पुल मर्मत नहुँदा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका दैलेखको आठबिस नगरपालिका–४ का स्थानीयनिरज कुमार माज्ीले बताए । झन्डै दुई दशकअघि बनेको उक्तझोलुङ्गे पुल मापदण्ड अनुसार मर्मत नहुँदा पुलमा २७ जेठ २०८१ मा १४ वटा खच्चड फसेका थिए । जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल मर्मतमा हालसम्म कसैले चासो नदेखाएको स्थानीयको भनाई छ ।
खच्चड फसेर झनै जीर्ण भएको झोलुङ्गे पुलको हालसम्म मर्मत गर्न कसैको ध्याननगएको माज्ीको भनाई छ । सम्बन्धित निकायले तत्काल पुल मर्मत गर्ने भए जोखिमपूर्ण पुलमा आवतजावत बन्द गर्नुपर्ने उनको भनाई छ । नजिकै रहेको अर्को पुल सुत्केरी र महिनावारी भएका महिलाले प्रयोग गर्न पाउँदैनन् । महिनावारी हुने उमेरका छात्राहरू समेत देउताका नाममा जोखिम मोल्न बाध्य छन्,’ माज्ीले भने ।
पञ्चदेवल विनायक नगरपालिका–९ बाट ५० जना बालबालिका दैलेखको आठबिस नगरपालिका–४ मा रहेको न्यु भेरी कर्णाली मोडल स्कुलमा अध्ययन गर्न आउने र दैलेखको आठबिस नगरपालिका–४ बाट अछामको पञ्चदेवल विनायक नगरपालिका–९ मा रहेको चण्डीका माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने एक सय १५ जना बालबालिका आवतजावत गर्ने पुल जीर्ण हुँदा समस्या भएको स्थानीयको भनाई छ ।
अछाम पञ्चदेवल विनायक नगरपालिका–९ का वडाध्यक्ष रामप्रसाद जैसीले पुल निर्माणका लागी विभिन्न निकायमा समन्वय गरेता पनि हालसम्म पुल निर्माण हुन नसकेको बताए । नगरपालिकामा पुल निर्माण गर्ने जनशक्ति नभएका कारण नयाँ पुल निर्माण गर्ने भन्दै डिपिआर तयारका गर्न नगरपालिकाले स्वीकृत प्रदान गरिएको र डिपिआर पछि पुल बन्ने उनले बताए । उनका अनुसार दैलेखबाट अछाम पढ्न जाने विद्यार्थी त्यही जीर्ण पुलबाट यात्रा गर्न बाध्य रहेका छन् ।











